आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ । बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्केटमा बिहान ८ बजेदेखि सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पुस ३ गतेसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन तथा महामन्त्री धवलशम्शेर राणाले देशभरको साङ्गठनिक योजनासहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा समीक्षा गरिने र संसद्मा पार्टीले निर्वाह गरेको भूमिकाबारे केन्द्रीय नेतालाई जानकारी गराएर सङ्गठन सुदृढीकरणका लागि रणनीति तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यस्तै, पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गरिने जनाइएको छ ।
पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा विभिन्न पद र जिम्मेवारीअनुसार नेताहरूको काम, अधिकार र कर्तव्य तोकेको नियमावली अनुमोदन भएपछि केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर हुने पनि बताइएको छ ।
यस्तै, राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन अन्य दलसँग समन्वय गर्ने विषयमा बैठकमा छलफल हुने छ ।