एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा सरकारको संलग्नता छ
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद–बिक्री प्रकरणमा सरकारकै संलग्नता भएको अरोप लगाएका छन्। बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नताबिना बेचिन नसक्ने दाबी गरे।
खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको भन्दै उनले आशंका व्यक्त गरे। उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको ओलीको आरोप छ।चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीको मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको बताए। उनले नागरिकहरुले सरकारको संलग्नत छ भने पनि सरकार बोल्न नसकेको उलेलेख गरे।
उनले भने, ‘सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ। यसमा सरकारको संलग्नता नहुने कुरै भएन। खर्बौंको कारोबार, खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ। सयौं गुणा फरक छ यसमा। यत्रो अन्तर पारेर देशलाई घाटा पारेर अब तीन, चार वर्षपछि एनसेल आफैं नेपाल सरकारको अण्डरमा आउने त्यस ठाउँमा सरकारले जालझेल गरेर अर्को कम्पनीमा नामसारी गरेर कौडीका मोलमा नामसारी गरेर कमीसनतन्त्रको जालोबाट देशलाई लुटतन्त्रमा लगेको छ। यो कुरा बाहिर आइरहेको छ। सरकार बोल्न सकिरहेको छैन। अवस्था यस्तो छ।’अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गरे।