राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई उमेदवार बनाउनुपर्छ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रियसभा निर्वाचनमा अवसर नपाएकालाई उमेदवार बनाउनुपर्ने बताएका छन् ।
बुधबार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरूलाई राष्ट्रियसभा निर्वाचनमा उमेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको पनि बताए । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उनको भनाइ थियो ।
त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ । पार्टीको महासमिति बैठक समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताए । उनले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि संगठित रुपमा दबाब दिन नेताहरुले जोड दिएको बताए ।
महामन्त्री थापाले भने, “यो पटक राष्ट्रिय सभा निर्वाचनमा दुई वटा कुरा स्पष्ट हुनुपर्छ भनेर छलफल गर्यौं । एउटा, मापदण्ड । नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा जाँदैछ भने राष्ट्रिय सभाको जुन स्पिरिट छ । संविधानको जुन स्पिरिट छ । यी सबै कुराहरुको आधारमा जो साथीहरु राष्ट्रिय सभामा जान योग्य हुनुहुन्छ । अहिलेसम्म मौका पाउनुभएको छैन । जसले यो भन्दा अघिको निर्वाचनमा भाग लिनुभएको छैन । ती साथीहरु जाने कुरा एउटा । दोस्रो कुरा भनेको चाहीँ न्यायपूर्ण कुरा । यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि सभापति चाहीँ यो पटक राष्ट्रिय सभाको टिकट बाँडदै गर्दाखेरी सभापति सिंगो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ? सभापति सिंगो कांग्रेसको सभापति बनाउने हो ।”