म्याक्सवेलको दोहोरो शतकप्रेरित अस्ट्रेलियाको उत्कृष्ट जित
अलराउन्डर ग्लेन म्याक्सवेलको दोहोरो शतकप्रेरित अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध तीन विकेटको उत्कृष्ट जित निकालेको छ ।
मंगलबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा सम्पन्न खेलमा म्याक्सवेलले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २९२ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी रहँदै सात विकेट गुमाएर भेट्टायो ।
अस्ट्रेलियाको जितमा म्याक्सवेलले अविजित २०१ रन बनाए । जारी विश्वकपमा पहिलो दोहोरो शतक बनाएका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा यो म्याक्सवेलको अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो ।
९१-७ को नाजुक स्थितिमा ब्याटिङका लागि आएका म्याक्सवेलले आठौँ विकेटको निम्ति कप्तान प्याट कुमिन्ससँग अविजित २०२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई अप्रत्याशित जित दिलाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।जितसँगै सेमिफाइनल प्रवेश गरेको अस्ट्रेलियाले आठ खेलबाट १२ अंक जोडेको छ । अस्ट्रेलिया तालिकाको तेस्रो स्थानमा छ । यो हारले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कमजोर बनेको छ । समान खेलबाट आठ अंक जोडेको अफगानिस्तान तालिकाको छैटौँ स्थानमा छ ।