भूकम्पपीडितको राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । भूकम्पपीडितको उद्धार तथा राहतमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको भेटमा उनले पीडितलाई सबै प्रकारको सहयोग गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताए ।
प्रधानमन्त्री दाहालले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई ऊर्जा मिलेको छ ।” रास्वपाले दिएका सुझावलाई यसअघि नै सरकारले मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गरिसकेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले भने, “अहिले तपाईंहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैँमा पनि सरकारलाई एउटा नयाँ ऊर्जा मिलेको महसुस भएको छ ।”
उनले पीडितसमक्ष सही समय र ठीक ढङ्गले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा सरकार सचेत रहेको बताए । विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितको राहत र पुनः स्थापनामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने, “त्यसका लागि कानुनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता छ, राहत र पुनःस्थापनालाई मोडेलका रुपमा अगाडि बढाउनेमा सरकार दृढ छ ।”