टी-२० विश्वकपमा छनोट भएको नेपाललाई सुपर ८ सम्मको मौका


टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दा नेपाल १० वर्षपछि विश्वकपका लागि छनोट भयो । नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।

त्यसयता सन २०१६, २०२१ र २०२२ को विश्वकपमा नेपाल छनोट हुन सकेन् । पछिल्लो विश्वकप छनोटमा त यूएई नै नेपालको बाधक बनेको थियो । तर यस पटक भने यूएईलाई रोकेर नेपाल टी-२० विश्वकपमा पुगेको हो ।

विश्वकपमा छनोट भए पनि नेपालले घरेलु मैदानमा आयोजना भएको एसिया छनोटको उपाधि भने जित्न सकेन् । फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित हुँदा उपाधिबाट बञ्चित भयो । समूह चरणमा ब्यहोरेको हारको बदलासहित उपाधि जित्ने नेपालको योजनामा ओमान बाधक बन्यो र अपराजित रहँदै एसिया छनोटको उपाधि आफ्नो पोल्टामा पार्‍याे ।

तर, कीर्तिपुरको क्रिकेट मैदानमा नेपालको हारमा दर्शक तथा खेलाडी निराश थिएनन् । पहिलो – प्रतिस्पर्धात्मक खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो । दोस्रो – नेपाल यसअघि नै विश्वकपका लागि छनोट भइसकेकाले दर्शक तथा खेलाडी निराश देखिएनन् । बरु खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक मोन्टी देशाई तथा कप्तान रोहित पौडेलले आफूहरु अब विश्वकपको तयारीमा जुट्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *