कात्तिक अन्तिम साता राष्ट्रपति पौडेलले फ्रान्स र जर्मनीको भ्रमण गर्ने


राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक अन्तिम साता युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्ने भएका छन् ।

फ्रान्सको पेरिसस्थित नेपाली दूतावास स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस फोरमको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । पेरिस पिस फोरम सम्मेलनको यो छैटौँ संस्करण हो । यो वर्ष सम्मेलनको थिम ‘प्रतिद्वन्द्वी विश्वमा साझा मैदानको खोजी’ रहेको छ ।

सम्मेलनमा धेरै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, व्यवसायी, विकास बैंक, फाउन्डेन र एनजीओका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँन, घानाका राष्ट्रपति नाना अकुफो–अड्डु, युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिचेल, बार्बाडोसका प्रधानमन्त्री मिया मोट्टली, अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।

योपटक सम्मेलनमा पृथ्वी र जीवनको रक्षा, डिजिटल संसारमा विश्वास र सुरक्षा, असमानताको सम्बोधन तथा एसडीजीलाई गति प्रदान गर्ने र सुरक्षित विश्व निर्माणलगायत विषयमा गहन छलफल गरिनेछ ।

स्रोतका अनुसार राष्ट्रपति पौडेल पेरिस पिस फोरमको सम्मेलनमा सहभागी भएपछि त्यहीँबाट जर्मनी जानेछन् । जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *