मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टीका ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीलाई अविश्वास पत्र बुझाएका छन्।
अहिले ११ बजे प्रदेश सभा भवन पुगी अविश्वासको प्रस्ताव दर्ता भएको हो। अविश्वासको प्रस्तावक हिजोमात्र पदमुक्त भएका आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो रहेका छन्।
प्रदेश १ मा नेकपाका ६७ प्रदेश सांसद छन्। जसमध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ जना छन्। यसमा पनि नेपाल पक्षका ४७ र ओली पक्षका २० जना सांसद रहेका छन्।
आज बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए ।