सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले अधिकतम ७५ रूपैयाँसम्म बोनस दिने
सानिमा रिलायन्स लाइृफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले साविक रिलायन्स लाईफ इन्स्योरेन्सका विमितहरूका लागि आर्थिक वर्ष ०७८÷७९ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा अधिकतम ७५ रूपैयाँसम्म बोनस दिने भएको हो । कम्पनीले प्रति हजार रूपैयाँमा उक्त बोनस दर दिने भएको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार प्रतिहजार न्यूनतम १९ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म हुने उल्लेख छ । न्यूनतम प्रतिहजार १९ रूपैयाँ बोनस कम्पनीले सामूहिक सावधिक बीमालेखमा दिने भएको हो । यो बीमालेख ९ वर्षदेखि २५ वर्षअवधिसम्मको रहेको छ । सबै अवधिका यस योजनाका विमितहरूले प्रतिहजार १९ रूपैयाँ बोनस पाउनेछन् । अधिकतम बोनस दर भने कम्पनीले सावधिक बीमा योजनाका विमितहरूलाई दिने भएको हो । यस योजना अन्तर्गत २५ वर्षदेखि माथीको बीमा योजनामा कम्पनीले प्रति हजार ७५ रूपैयाँ बोनस दिने भएको हो ।
अधिकतम बोनस दर रहेको २५ वर्षदेखि माथीको सावधिक बीमालेख योजना ३७३ ओटा विक्री भएको जानकारी कम्पनीले दिएको छ । साविक रिलायन्स लाइफले आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न आठ बीमालेखहरू जारी गरेको छ । उल्लेखित दुई योजना वाहेक मुद्दती सुरक्षण बीमा योजना नियमित शुल्क, मुद्दती सुरक्षण बीमा योजना एक शुल्क, १५ वर्षे अग्रिम भुक्तानी योजना, २० वर्षे अग्रिम भुक्तानी योजना, रुपान्तरीत वार्षिक अग्रिम भुक्तानी योजना, सावधिक तथा आजीवन योजना र सिमित भुक्तानी सावधिक योजना कम्पनीले जारी गरेको हो ।
मुद्दती सुरक्षण बीमा योजना नियमित शुल्क बीमा योजनामा कम्पनीले २४ रूपैयाँ , मुद्दती सुरक्षण बीमा योजना एकल शुल्कमा ५४ रूपैयाँ, १५ वर्षे अग्रिम भुक्तानी योजनामा ४१ रूपैयाँ , २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रूपैयाँ, रुपान्तरीत वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रूपैयाँ , सावधिक तथा आजीवन योजनामा न्यूनतम ३० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँ र सिमित भुक्तानी सावधिक योजनामा न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँसम्म बोनस दिने कम्पनीले जानकारी दिएको छ ।