रेमिट्यान्स घट्यो, चालु खाता २३ अर्ब बचतमा
साउनको तुलनामा भदौ महिनामा विदेशबाट नेपाली श्रमिकले पठाउने विप्रेषण (रेमिट्यान्स) चार अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनका अनुसार चालु खाता भने २३ अर्ब रुपैयाँ बचतमा देखिएको छ ।
साउनमा हालसम्मकै धेरै अर्थात् एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । भदौमा भने एक खर्ब १२ अर्ब रुपैयाँमात्रै रेमिट्यान्स आप्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो महिनाको तुलनामा ४ अर्ब रुपैयाँले रेमिट्यान्स आप्रवाह घटेको हो ।
अघिल्लो वर्षको सोही अवधि तुलनामा भने रेमिट्यान्स आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा पनि भएको विप्रेषण आप्रवाह पनि १७.७ प्रतिशतले वृद्धि भएको छ ।
चालु खाता घाटा भने दोस्रो महिना अर्थात् भदौमा पनि बचतमा देखिएको छ । असारमा ७२ अर्ब रुपैयाँ घाटामा रहेको यो खाता साउनमा १३ र भदौमा २३ अर्ब रुपैयाँ बचतमा रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
भदौमा शोधनान्तर बचत पनि ५३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। विदेशी मुद्राको सञ्चिती १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।