कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज (शनिबार) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्कीको पक्षमा ४७ जना सांसदले सशरीर उपस्थित भएर सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्की मुख्यमन्त्री बन्ने पक्का भएको थियो ।कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका थिए । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कार्की नेपाली कांग्रेसको शेखर कोइराला पक्षका हुन् ।
यता ४७ सांसदकै हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गरेका नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो पक्ष भने सनाखतमा गएन । आफूले समर्थनमा राखेका सांसद कार्की पक्षमा गएपछि अल्पमतमा परेका आङबो सनाखतमा नगएका हुन् । कोशीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।