अज्ञात बन्दुकधारीद्वारा घानामा बसमा आक्रमण, ९ जनाको मृत्यु
घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् ।
पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अनुसार माथिल्लो पूर्वी क्षेत्रको अशान्त सहरी समुदाय बावकुबाट छिमेकी बुर्किना फासोको बजार केन्द्रतर्फ जाँदै गर्दा आक्रमण भएको हो ।
अब्दुलाईले भने, “बावुकु र आसपासका क्षेत्रमा सशस्त्र आक्रमणका कारण प्रहरीको सुरक्षामा गाडीहरू चलाइएको र ती गाडीहरूमा केही ब्यापारीसमेत रहेका थिए ।”
सुरक्षा गस्तीसहित चलाइएका बसमा अज्ञात बन्दुकधारीहरूले पुसिगाको नजिकै बसहरूमा एक्कासी गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो र अन्य केही घाइते भएका थिए ।
अब्दुलाईका अनुसार सुरक्षा निकायले द्रूत गतिमा जवाफी कारबाही गर्दै आक्रमणकारीको खोजी सुरु गरेको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।