समस्या समाधानमा एकजुट नभए हामी धेरै खतराबाट जेलिदैछौँ : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्। देश गम्भीर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै उनले ती समस्याहरूलाई समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले साँच्चै गम्भीर भएर देशका बारेमा सोच्नुपर्ने अवस्था आएको भनाइ उनले राखे। ‘आज सबै पार्टी, सबै पक्षहरू मिलेर देशका समस्या समाधानगर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ। नत्र भने धरै प्रकारका खतराहरूबाट हामी जेलिदैछौं। त्यो गम्भीर परिस्थिति छ,’ उनले भने। प्रमुख राजनीतिक दलहरू जिम्मा र जमानी बसेर धेरै आन्दोलनहरू भएको स्मरण गर्दै उनले अब शब्द खेलाएर केही नहुने र प्रमुख राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने बताए।
आजका उपलब्धिहरू पछाडि धेरै बलिदान, जीवन, रगत, पसिना र आँसु जोडिएर आएकाले यसलाई गुम्न दिन नहुने भनाइ उनले राखेका थिए। ‘प्रमुख राजनीतिक दलहरू जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन्। यी यत्तिकैआकाशबाट आएका होइनन्। यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँसु, कठिनाइहरूसँग जुधेर यहाँ ल्याई पुर्याएका छौँ,’ उनले भने, ‘यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन। अब शब्द खेलाएर केही पनि हुँदैन। साँच्चै देशप्रति प्रमुख राजनीतिक दलहरू जिम्मेवार हुनुपर्छ।’
यसैगरी उनले संविधान निर्माणमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै एमालेले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।