एमालेभित्र बिस्फोट हुन्छ, देशव्यापी रुपमा पहिरो जान्छ
नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले पार्टीभित्र बिस्फोट हुने बताएका छन्।बुधवार नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्ष पार्टी एमालेभित्र बिस्फोट र बिद्रोह हुने दाबी गरे। जसकारण एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने उनको भनाइ थियो। एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टी भित्रैबाट विद्रोह हुने उनले बताए।
एमाले छाडेर आएका नेता कार्यकर्तालाई नेकपा एसमा भित्र्याउँदै उनले यस्तो बताएका हुन्। उनले भने, ‘यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जादैछ । र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्छ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ।’
जनताको बहुदलीय जनवाद(जबज)बाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने भनाइ उनको थियो। एमाले अब आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि उनले बताए।
केही वर्षभित्रै नेकपा एस एउटा राष्ट्रव्यापी पार्टी बन्ने दाबी पनि उनले गरे।उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरूले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरूले सही विचार र कार्यदिशा लिनुपर्ने बताए।