कांग्रेसको जारी केन्द्रीय समिति बैठक १९ गतेसम्म स्थगित
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिका विषयमा धारणा बनाउन बसेको कांग्रेस केन्द्रीय समिति बैठक आगामी १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने गरी स्थगित भएको हो ।
पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटै प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक, अधिनायक आकांक्षाबाट प्रेरित तथा अधिनायकवादतर्फ उन्मुख भएको निष्कर्ष निकालेको कांग्रेस केन्द्रीय समिति बैठकमा पुग्दा भने निर्वाचनमा जाने की आन्दोलनमा भन्ने विषयको बहसमा फसको थियो ।
त्यही कारण तेस्रो दिन मात्र आन्दोलनमा जाने निर्णयमा पुगेको थियो ।१३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि सभापति शेरबहादुर देउवाले बैठक स्थगनको प्रस्ताव गरेपछि १९ गतेसम्मका लागि स्थगित गरिएको हो।