नेपाल विश्वकै सुन्दर मुलुक हुन सक्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर देशहरूको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन् । नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसैअनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको उनको भनाइ छ ।
शुक्रबार ललितपुरको महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लालीगुँरास फूलको बिरुवा रोपेपछि सभामुख घिमिरेले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भए पनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताएका हुन् ।
महालक्ष्मी नगरपालिकाले काठमाडौँ उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको हो ।
नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियानअन्तर्गत आउँदो माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताए ।