जी-२० सम्मेलनमा पुटिन सहभागी नहुने
आउँदो महिना सेप्टेम्बर ९ र १० मा भारतको नयाँ दिल्लीमा हुने जी-२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् ।
पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर विश्वका प्रमुख २० अर्थतन्त्रहरूको समूह जी-२० को सम्मेलनमा सहभागी नहुने बताएका हुन् ।
यस वर्ष भारतले आयोजना गरिरहेको शिखर सम्मेलनमा पुटिनले आफ्नो तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी हुने बताएका छन् ।
दुई नेताले आपसी हित एवं क्षेत्रीय र विश्वव्यापी मुद्दामा पनि छलफल गरेको बताइएको छ । रुस सरकारका प्रवक्ताले गत हप्ता पुटिन व्यस्त कार्यतालिका कारण शिखर सम्मेलनमा सहभागी नहुने भनेका थिए ।
जी-२० विश्वका १९ धनाढ्य मुलुक र युरोपियन युनियन समावेश छ । यसको अध्यक्ष प्रत्येक वर्ष फरक सदस्य राष्ट्र हुन्छ र सोहीले सम्मेलनको आयोजना गर्छ ।