लुटतन्त्रको अन्त्यको लागि अब जनता सडकमा आउनुपर्छ


राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै त्यसको अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

आगामी भाद्र २९ गते पार्टीले बृहत विरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुकमा अब मौलिक संस्करणको राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्नेसमेत बताए ।

मुलुकको गौरवशाली इतिहास, धर्म संस्कृति पहिचानलाई समाप्त पार्न योजनाबद्ध रूपमा भएका षड्यन्त्रविरुद्ध नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिँदै थापाले घिनलाग्दो भ्रष्टाचारको विरुद्धमा आन्दोलनको विकल्प नभएको समेत बताए ।

राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने थापाको धारणा रहेको छ ।

सीमित दलका सीमित नेताहरूको सेटिङमा राज्य व्यवस्था चल्नु दुर्भाग्यपूर्ण रहेको भन्दै थापाले मुलुकमा विदेशी प्रभाव र दबाब बढ्नुमा नेताहरूकै भूमिका रहेको समेत बताए ।

बैठकमा बोल्दै पार्टीका महामन्त्री राजाराम बर्तौलाले अब पार्टीले सुरु गर्ने आन्दोलनमा नेता कार्यकर्ताको मात्र होइन जनताको समेत समर्थन र सहभागी हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *