‘नाडा अटो शो २०२३’ भदौ २६ देखि ३१ सम्म
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो शो २०२३ भदौ २६ गतेदेखि शुरु हुने भएको छ । भदौ ३१सम्म चल्ने अटो शोको पन्ध्रौं संस्करणलाई टाटा मोटर्स जेनुइन आयलले प्रायोजन गर्दैछ ।
काठमाडौंको भृकुटीमण्डपमा चल्ने अटो शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् सवारीसाधनसँग सम्बन्धित सामग्री खरिद एवम्ं जानकारी एकै थलोमा पाइनेछ ।
नाडाका अनुसार प्रदर्शनीमा करिब १२० स्टल र ब्लकहरू रहनेछ । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत हुनेछ ।
प्रदर्शनीमा १६ ब्राण्डका चार पाङग्रे, २२ ब्राण्डका दुई पाङग्रे, ७ ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा ब्राण्डका लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहने नाडाले जानकारी दिएको छ । प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी सेवासुविधा पनि प्रदान गरिने नाडाले जनाएको छ । अटो शोमा वित्तीय सेवा, बिक्री पछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरू पनि राखिनेछ ।
सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने नाडाले जानकारी दिएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्न काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिनेछ ।
एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवम् आगन्तुकहरूको भ्रमणलाई सहज बनाउन आज (सोमबार) देखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । आज देखि भदौ २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ ।