सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानको पछिल्लो अवस्थाका सम्बन्धमा सामाजिक सद्भावका लागि सबैलाई अपिल गरेका छन्।
शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रहिदिन र सद्भावको पक्षमा उभिदिन स्थानीय र सबै धर्मावलम्बीलाई अपिल गरेका छन्।
उनले भनेका छन्, ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु।’
कसैले कसैको धर्म र भावनाप्रति नकारात्मकता, द्वैय बढाउने तथा एक अर्कको धर्ममा खलल पार्नेगरी कुनै काम, व्यवहार गर्न निषेध गरिएको पनि प्रधानमन्त्री प्रचण्डले सम्मरण गराएका छन्।
उनले भनेका छन्, ‘कसैले कसैको धर्म र भावनाप्रति नकारात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ। यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन। तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ।’
केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको उनले विज्ञप्तिमार्फत् बताएका छन्।