सत्ताको ढोकासम्म आरोप नआउँदासम्मको मात्र सुशासन हो?


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने‍ले सरकारको सुशासन अभियानबारे प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले कुनै पनि प्रकरणमा सत्ताको ढोकासम्म आरोप नआउँदासम्मको लागि मात्रै सुशासन हो? भन्दै प्रश्न गरेका हुन्।

सरकारले सुशासनको अभियानको कुरा गरिरहँदा सत्तारुढ दलका नेताहरु मुछिनेबित्तिकै सुस्ताउने कस्तो खालको सुशासन हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

‘सरकारले सुशासनको कुरा गर्‍यो। हामीले शं‌‌काको सुविधा दियौं। तर कहाँसम्मको सुशासन हो। आफ्नो ढोकासम्म त्यो आरोप नआउँदासम्मको मात्र सुशासन हो कि साँच्चैको सुशासन हो? यो गम्भीर प्रश्न बनेको छ,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा जति पनि काम गरिरहेका प्रहरी कर्मचारी थिए। उनीहरुको सरुवा भयो। यो प्रमाण सरकारको सुशासनमाथि शं‌का गर्न पर्याप्त छ‌ैन र?

उनले ललित निवास प्रकरणमा कर्मचारी र जग्गा किन्ने मानिसहरु जहाजको सिटबाट समातेर थुनिँदा निर्णयकर्ताहरुलाई चोख्याइनुले सरकारको सुशासनबारे छर्लंग पारेको टिप्पणी गरे। उनले भने, ‘ ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएका, मालपोतमा कागज हेरेका, पैसा दिएर किनेका मानिसहरु र कर्मचारी जहाजको सिटबाट समातिए र थुनिए। तर निर्णयकर्ताहरुलाई सुनपानी छर्केर च‍ोख्याइयो। के सरकारको सुशासन यही हो?’

उनले छानबिन समितको कार्यकुशलता र प्रभावकारिताप्रति पनि शंका गरेका छन्। अहिलेसम्म बनेका छानबिन समिति र तिनका छानबिनका प्रतिवेदनको प्रभावकारिता सबैले देखेको भन्दै प्रश्न गरेका हुन्। सभापति लामिछानेले जनताको बलिदानी र परिवर्तनको बलमा आएका नव युवराज र उनीहरुका छोराछोरीका हर्कत र क्रियाकलापले पनि सरकारको सुशासनबारे स्पष्ट पार्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *