संसद्को अवरोध खुलाउन सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को जारी अवरोध खुलाउने विषयमा संसद्मा प्रतिनिधित्व गर्नेसहितका दलहरुको सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार लामो समयदेखि संसद्मा गतिरोध रहेको र जनताका मुद्दाहरुमा छलफल हुन नपाएको भन्दै उनले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।
राष्ट्रपति भएपछि पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउन लागेका हुन्। मंसिर ४ मा भएको निर्वाचनपछि उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुँदै राष्ट्रपति निर्वाचित भएका थिए।
पछिल्लो पटक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने माग गर्दै संसद् अवरोध गरिरहेको छ। एमालेले सरकारले गरिरहेको अनुसन्धानमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि अनुसन्धान गर्न नसक्ने जिकिर गर्दै यस्तो माग उठाएर साउन १० गतेदेखि संसद् अवरोध जारी राखेको छ।
संसदमा गृहमन्त्री श्रेष्ठले प्रभावकारी अनुसन्धान हुने भनी जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दलले संसद्को अवरोध खुलाउन नचाएपछि राष्ट्रपतिले सर्वदलीय बैठकमा छलफल गर्न लागेका हुन्।
राष्ट्रपतिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मलाई भेटेर संसद्को अवरोधबारे छलफल गरेका छन्। छलफलपछि सबैले सदनको अवरोध खुलाउन पहल गर्न सुझाव दिएपछि उनले बैठकको तयारी गरेका हुन्।राष्ट्रपतिको सचिवालयका अनुसार आइतबार वा सोमबार सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी छ। राष्ट्रपतिले दलहरुसँग परामर्श गरेर सर्वदलीय बैठकको मिति तोक्ने तयारी गरेको सचिवालयले जनाएको छ।