जीवन विकास लघुवित्तको वितरणयोग्य नाफा २६ करोडभन्दा बढी
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४० करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ५० प्रतिशत कम खुद नाफा गरेको हो ।
अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८१ करोड १९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । वितरणयोग्य नाफा भने यस अवधिसम्म २६ करोड ३२ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा घट्न पुगेको हो ।
अघिल्लो वर्ष ९ करोड रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष भने ३७ करोड ३४ लाख रूपैयाँभन्दा बढी भएको हो । कम्पनीको सञ्चालन नाफा समेत अघिल्लो वर्षको भन्दा ५० प्रतिशत कम ५७ करोड ८९ लाख रूपैयाँभन्दा बढी मात्र भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रूपैयाँ छ । रिटेन्ड अर्निग ८८ करोड ४४ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब ४ करोड रूपैयाँभन्दा बढी छ । कम्पनीले गत चौथो त्रैमाससम्म १० अर्ब ३ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ८ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
उक्त अवधिसम्म कम्पनीले २२ अर्ब ७९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३९ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ३४ रूपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६३ रूपैयाँ ७ पैसा छ ।