गृह र अर्थमन्त्रीको राजीनामा मागेकैले सुनील शर्मा पक्राउ परे : केपी शर्मा ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिविरुद्ध बोलेकै कारण सांसद सुनील शर्मालाई पक्राउ गर्ने काम भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह ‘पुरुष परीक्षा’ लोकार्पण समारोहमा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई पक्राउ गर्ने काम भएको बताए ।
ओलीले सुन तस्करी प्रकरणलाई ढाकछोप पर्ने काम राज्यबाटै भएको पनि आरोप लगाए । अध्यक्ष ओलीले दुई दिन बोलेपछि शर्मालाई पक्राउ गरेर राज्यले सुन तस्करी प्रकरणमा बोल्नेको मुख बन्द गर्ने काम गरेको बताए ।
त्यस्तै, उनले सदनमा पनि एमालेले सुन प्रकरणमा बोल्छ भनेर सत्तापक्ष सांसदहरूले उठेर विरोध जनाएको र बोल्न निषेध गरेको जिकिर गरे । अध्यक्ष ओलीले समाजलाई सफा गर्नका लागि सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने समेत बताए ।