प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी आह्वान
संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी भए निवेदन आह्वान गरेको छ ।
समितिले आज एक सूचना जारी गरी संवैधानिक परिषदबाट सर्वोच्चको प्रधानन्यायाधीशका लागि सिफारिस श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो । संवैधानिक परिषद्ले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।
समितिले उक्त पदमा श्रेष्ठलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिन भित्रमा उजुरी दिन भनेको छ ।
सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत समितिले जानकारी गराएको छ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठ साउन २१ देखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।