प्रहरीले कृष्णबहादुर महरालाई सामान्य सोधपुछ गर्ने आँट पनि देखाएन


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताए ।

उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराधलगायतका विषय पनि जोडिएको भन्दै अनुसन्धान हुनुपर्ने बताए ।

“सुन तस्करी प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राजस्व अनुसन्धानले सुरुवात गर्‍यो । ठिक छ प्रशंसै गरौँ, अहिलेलाई । तर, यो विषयलाई यतिमा मात्रै सीमित राख्नुपर्ने अवस्था रहेन । किनभने यसमा संगठित अपराध पनि जोडियो । सम्बन्धित मान्छेले कुन ढंगले, कसरी पासपोर्ट र नागरिकता प्राप्त गरेको भन्ने विषय पनि आयो । अन्तरदेशीय अपराध पनि यहाँ देखियो,” उनले भने ।

लामिछानेले सुन प्रकरणलाई छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि बताए । “यति ठुलो काण्डलाई हामीले किन नजरअन्दाज गर्‍यौँ ? म अनुरोध गर्न चाहाछु, छानबिन अगाडि बढाउनका लागि आजकै बैठकले निर्देशन दिनुपर्‍यो । जाँचबुझ आयोगको आवश्यकता छ, छैन ? छलफलका लागि साथीहरूलाई आग्रह गर्न चाहन्छु, आवश्यकता छ जस्तो मलाई लाग्छ ।”

उनले सुन तस्करी प्रकरणमा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नामसमेत जोडिएको भए पनि प्रहरीले सामान्य सोधपुछ गर्न समेत आँट नदेखाएको बताए । प्रहरीले पनि मिडिया ट्रायल गरिरहेको उनको भनाइ छ ।

“उहाँ निर्दोष हो भने उहाँलाई पनि त आफू निर्दोष हुँ भन्ने ग्राउन्ड त अनुसन्धानले नै देला । मोबाइल उहाँको होइन भन्दिएपछि यदि त्यो मोबाइल उहाँको हो रहेछ भने त त्यो मोबाइलमा भएका कुराकानी, सयौँपटक भएको कम्युनिकेसन, कुराकानीको स्वामित्व त फोन जसको हो उसले त लिनुपर्ला । मैले चलाएको मेरो टेलिफोन नम्बर मेरो हो कि होइन भन्ने कुराको अनुसन्धान गर्न पनि यति धेरै टाउको दुखाउनुपर्छ र ? अनुसन्धान कसले गर्ने ? अहिले समस्या के भइरहेको छ भने प्रहरीलाई गाह्रो भयो प्रहरीले मिडिया ट्रायल गरिदिएको छ । सामान्य सोधपुछ समेत गर्नसक्ने आँट देखिँदैन । यो त उहाँलाई पनि निर्दोष प्रमाणित हुने अवसर त दिनुपर्ला नि जो माथि आरोप लागेको छ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *