पीएसजीलाई एमबाप्पेले किन भने विभाजनकारी क्लब?
फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेले आफ्नो क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई ‘विभाजनकारी’को संज्ञा दिएका छन् ।
क्लबसँगको सम्झौतालाई लिएर चर्चामा रहेका एमबाप्पेले फ्रान्स फुटबल म्यागाजिनसँग पीएसजीलाई विभाजनकारी भनेका हुन् ।
पीएसजीका उच्च गोलकर्तासमेत रहेका २४ वर्षीय एमबाप्पे र क्लबबीच आगामी वर्षसम्मको सम्झौता छ । यसकारण क्लबले सम्झौता नवीकरणका लागि दबाब दिँदा एमबाप्पेले भने सम्झौता नवीकरण नगर्ने बताएका छन् ।
“मलाई लाग्छ पीएसजीबाट खेल्दा यसले धेरै सहयोग गर्दैन, किनकी यो विभाजनकारी टिम हो,” रिर्पोटको दाबी गर्दै बीबीसीले लेखेको छ ।
आगामी वर्ष सम्झौता समाप्त हुने भए पनि एमबाप्पे नवीकरणको पक्षमा नरहँदा पीएसजीका अध्यक्ष नासेर अल–खेलाइफी पनि उनलाई ‘फ्री ट्रान्सफर’ मा जान दिने पक्षमा देखिँदैनन् ।
पीएसजीबाट पाँचपटक लिग वानको उपाधि जितेका एमबाप्पे सन् २०१७ मा मोनाकोबाट आएका थिए । गत सिजन पीएसजीले लिग वानको उपाधि जित्दा एमबाप्पेले सबैखाले प्रतियोगितामा गरी ४१ गोल गरेका थिए । तर, गत सिजन पनि पीएसजीले क्लबको सबैभन्दा महत्त्वपूर्ण लक्ष्यमा रहेको च्याम्पियन्स लिगको उपाधि जित्न भने सकेन ।