अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित


क्रिकेट विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली क्रिकेट टोली स्कटल्याण्डसँग पराजित भएको छ। टस्क ओभलमा सम्पन्न खेलमा नेपाली टोली स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले २८.५ ओभरमा अलआउट हुँदै १३५ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाउँदा आशिफ शेखले २८ रन बनाए। त्यस्तै कुशल भुर्तेलले १६ तथा दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ ब्रान्डन म्याकमुलन र ज्याक जर्भिसले समान ३ विकेट लिँदा सफयान सरिफले २ तथा एड्रेन निल र हम्जा ताहिरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ३० औँ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक अविजित ५९ रन बनाउँदा रिचन बेरिङ्टन अविजित ४३ रन बनाए। त्यस्तै क्रिस्टोफर म्याकब्रिडले १३ तथा म्याथ्यु क्रसले ७ रन बनाए।

बलिङतर्फ नेपालका लागि गुलसन झाले २ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए। नेपालले अर्को अभ्यास खेलमा नेदरल्याण्ड्ससँग खेलेर जिम्बावे प्रस्थान गर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *