प्राधिकरणद्धारा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना, १२ देशको सहभागि रहने


नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्राधिकरणले जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘एशियन इन्स्योरेन्स मिट, २०२३’ को आयोजना गर्न लागेको हो ।

सम्मेलनको मूल विषय ‘बिल्डिङ रिसाइलेन्स अफ इन्स्योरेन्स टुवार्डस इमर्जिङ रिक्स’ रहेको छ । सम्मेलन आयोजनामा इन्टरनेशनल एशोसियसन अफ इन्स्यारेन्स सुपरभाइजर्स, एशियन डेभलपमेन्ट बैंक, र एक्सिस टु इन्स्योरेन्स इनिसेटिभको सहयोग रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विश्वमा नवीनतम् विकास सँगसँगै बीमा क्षेत्रमा देखापरेका नयाँ नयाँ जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोेखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्यूनीकरण सम्बन्धी आपसी अनुभव, जोखिम न्यूनीकरणका लागि क्षमता अभिवृद्धि र बीमा क्षेत्रको भावि गन्तव्य लगायतका विषयमा प्रस्तुतीकरण एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

यसैगरी, विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका काम कारवाही, नयाँ नयाँ जोखिमहरूको व्यवस्थापनका लागि बीमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरूबीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरूबीचको आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउने लगायत विषयमा छलफल हुनेछ ।

सम्मेलनमा रिक्स वेस स्लोभेन्सीको कार्यान्वयन, बीमामा नवीनतम् डिजिटल प्रणाली अवलम्बन, बीमा व्यवसायको विकासका लागि नियामक निकायको क्षमता अभिवृद्धि, बीमा क्षेत्रमा जलवायु परिवर्तनका कारण आउने चुनौतीहरूको न्यूनीकरणका लागि नियामक निकाय, बीमक र पुनर्बीमकहरूको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाली अनुभव, कृषि बीमाको विकास तथा अभ्यासमाथि छलफल हुने छ ।

यसका साथै जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी संरचना, जीवन बीमा व्यवसायका अभ्यास, अवसर र चुनौती लगायतका विषयहरूमा बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक र बीमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुती र कार्यपत्रहरू माथि छलफल एवम् अन्तरक्रिया हुने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।

सम्मेलनको आयोजनाबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरू बीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, नियामकीय काम कार्यवाहीलाई अझ परिष्कृत बनाउन, बीमा क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोगलाई बढावा दिन, बीमा क्षेत्रका समस्याहरू शीघ्र पहिचान गरी न्यूनकरण गर्न, बीमा क्षेत्रलाई बदलिँदो परिवेश अनुसार नवीन सोचका साथ अगाडि बढाउन र समग्र बीमा क्षेत्रलाई सबल, विश्वसनीय, जवाफदेही र दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास प्राधिकरणले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *