भारतको छत्तिसगढमा प्रहरी सवार गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु


भारतको छत्तिसगढ राज्यमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लामा प्रहरी सवार गाडीले जमिनमुनि विछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा गाडीमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको जनाइएको छ । प्रहरीले उक्त घटनामा माओवादी विद्रोहीको संलग्न रहेको हुनसक्ने आशंका गरेको छ ।

भारतमा सन् १९६० यता जारी माओवादी सशस्त्र विद्रोहका कारण हालसम्म हजारौं मानिसको ज्यान गएको भएपनि पछिल्ला केही वर्षहरूमा हिंसामा उल्लेखनीय कमी आएको बताइन्छ ।

दन्तेवाडा जिल्लामा विद्रोही गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहले विस्फोटमा ज्यान गुमाएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । बुधबारको घटना सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति हो ।

छत्तिसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले एएफपीसँग भने, “नियमित कामबाट फर्कँदै गर्दा उनीहरूको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो ।”

भारतीय टेलिभिजन च्यानल एनडिटिभीमा प्रसारित घटनास्थलको फुटेजमा जमिनमा कैयौँ फिट सम्म फैलिएको खाल्डो र विस्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *