राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो : प्रचण्ड (विज्ञप्तिसहित)
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पारेका छन् । एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि उनले नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।
‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन’, प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’