माओवादीका मन्त्रीले राजीनामा दिएसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा

गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।
शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गण्डकी प्रदेश सरकार छाड्न संसदीय दललाई निर्देशन दिएका थिए ।
माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ ।
एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।केन्द्रीय समीकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि सत्ता समीकरण बदलिने अवस्था आएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । उनले अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे ।
सत्ताइस सदस्यसहित प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ ।