मिडियाहरू चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिए
सभामुख देवराज घिमिरेले महिलाहरूको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले संसद् र अन्य संघसंस्थाहरूमा पनि महिलाहरूको सक्रियता र सहभागिता बढिरहेको भएपनि सञ्चारमाध्यमहरूले सो अनुसार प्रचारप्रसार नगरेको टिप्पणी गरे।
उनले आफू सभामुख भइसकेपछिका संसद् बैठकमा पनि महिला सांसदहरूले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाएपनि सञ्चारमाध्यमहरूले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको बताए।
सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको गुनासो गरे। उनले संसद्मा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरूको उपस्थिति नरहेको उल्लेख गरे।सभामुख घिमिरेले संसद्ले संसद्मा महिलाहरूका लागि अस्थायी प्रकृतिका केही संरचनाहरू जरुरी रहेको र त्यो निर्माण गर्नेगरी संसद् सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताए।
सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले नेताहरू र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नु सुझाव दिए।