ओलीले संसद् विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन्।
रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउन बिहीबार दिउँसो आयोजित आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए।
‘अघिल्लोपटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद् पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो’, प्रचण्डले भने, ‘तर, बिचमा हामी अलिकति अलमलियौँ। अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ।’
पौडेललाई आठ दलको मात्र नभइ १० दलको समर्थन रहेको प्रचण्डले बताए। गठबन्धनमा रहेका नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको उनको भनाइ छ। ‘उहाँले (रामचन्द्र पौडेलले) निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ’, प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले आफूले राष्ट्रपतिमा कांग्रेसलाई सघाएर जाउँ भनेर एमाले अध्यक्ष ओलीसँग प्रस्ताव गरेको तर उनले नमानेको बताए। त्यसपछि अधिकतम सहमतिका लागि आफूले पहल गरेको उनको भनाइ छ।