प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको छ ।
छलफलमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत तथा समाजवादीका तर्फबाट घनश्याम भुसाल, बेदुराम भुसाल लगायत सहभागी थिए । छलफलपछि प्रधानमन्त्री प्रचण्डले फागुन १३ गतेसम्म राष्ट्रपतिको टुङ्गो लाग्ने बताए । उनले पुरानो गठबन्धनलाई व्युँताउने विषयमा अहिले टुङ्गो नलागेको प्रतिक्रिया दिए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिका विषयमा छलफल जारी रहेको बताए । पुरानो गठबन्धन व्युँताउने तयारीका विषयमा उनले विभिन्न विकल्पमाथि छलफल भइरहेको जानकारी दिए । विभिन्न विकल्पमध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने विकल्पमा टुङ्गो लाग्ने उनले बताए ।
राष्ट्रपति निर्वाचनको मनोनयनको दिन नजिकिँदै गर्दा दलहरुबीचको छलफल बाक्लो भएको छ ।