उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
प्रदेश नम्बर १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा तथा प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।उता राती भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक–दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ । तराईमा हुस्सुले हुने जोखिम र असरबारे सचेत रहन महाशाखाले सूचना तथा पूर्वानुमान शाखामा अद्यावधिक रहन अनुरोध गरेको छ ।