तीन प्रदेशका ६ जिल्लामा फैलियो दादुरा, ३९२ बालबालिका संक्रमित
बाँकेमा गत पुस १२ गतेदेखि फैलिएको दादुरा संक्रमण हाल कर्णाली र सुदूरपश्चिमका ६ जिल्लामा फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुरमा गरी ३९२ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमध्ये ८२ प्रतिशत बाँके जिल्लाका बालबालिका छन् । ९१ प्रतिशत संक्रमित १५ वर्षमुनिका छन् भने संक्रमितमध्ये अधिकांशले दादुरा, रुबेलाविरुद्धको खोप नलगाएको पाइएको छ ।
प्रभावित जिल्लाहरुमा १० देखि ६१ प्रतिशत बालबालिका दादुराको जोखिममा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली र सुदूरपशिचमका जिल्लाहरुमा दादुरा संक्रमण फैलिएपछि सरकारले खोप अभियानलाई निरन्तरता दिएको छ । सबैभन्दा बढी प्रभावित नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा १५ वर्षमुनिका बालबालिकालाई मिजल्स भाइरसविरुद्धको खोप दिइसकिएको र अन्य पालिकामा समेत खोप अभियान चलिरहेको मन्त्रालयले जनाएको छ ।