पार्टीको ‘रबरस्टाम्प’ भएर काम गर्ने व्यक्ति राष्ट्रपति बन्न सक्दैन
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले निश्चित मर्यादाभित्र बस्न नसक्ने, पार्टीको ‘रबरस्टाम्प’ भएर काम गर्ने, संवैधानिक मर्यादालाई रक्षा गर्नेभन्दा पनि त्यसलाई भत्काउन क्रियाशील नहुने प्रवृत्ति भएको व्यक्ति राष्ट्रपति बन्न नसक्ने बताएका छन्।बुधबार आयोजित एक विचार गोष्ठीमा सम्बोधन गर्दै उनले राष्ट्रपतिमा ‘रबरस्टाम्प’ नहोस् भनेर नै नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन लड्न खोजेको बताए।
‘नेपालको संविधानलाई रक्षा गर्ने, नेपालको अभिभावक हुनसक्ने, अतिवादलाई अन्त्य गरेर सबैलाई जोड्न सक्ने क्षमता राष्ट्रपतिमा हुनुपर्छ, त्यो संस्कार कांग्रेसले मात्रै देखाउन सक्छ भनेर हामीले निर्वाचनमा राष्ट्रपतिमा उम्मेदवार दिन खोजेका हौँ’, उनले भने।
हिजो र अहिले राष्ट्रपतिबाट जे भइरहेको छ, त्यसले अन्ततः नेपालको संविधानलाई संकटमा पुर्याउने उनले बताए। नेपालको अभिभावकीय भूमिका गर्ने पदमा नेपाललाई जोड्ने, अहंकार नभएको, कसैको इशारामा नचल्ने, साँच्चै पुरानो आबद्धता त्यागेर नयाँ ढंगमा संविधानको संरक्षक हुँ, आम नेपालीको अभिभावक हुँ भनेर काम गर्न सक्ने खालको सोच भएको व्यक्तिलाई आफूहरुले राष्ट्रपतिमा प्रस्तुत गर्न खोजेको बताए।