तीन महिनाको अवधिमा ११ वटा मुद्दा दर्ता
राजस्व अनुसन्धान विभागले तीन महिनाको अवधिमा ११ वटा मुद्दा दर्ता गरेको छ । गएको कात्तिक १६ गतेदेखि हालसम्मको अवधिमा विभागले राजस्व चुहावटतर्फ ६ वटा र विदेशी विनिमय तर्फ ५ वटा मुद्दा दर्ता गराएको हो ।
यसरी दर्ता गरिएका मुद्दाहरुमा राजस्व चुहावट र विदेशी विनिमय तर्फ क्रमशः ८ र ६ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध दर्ता गरिएको मुद्दामा क्रमशः ६४ करोड ३१ लाख र ५२ लाख ३३ हजार रुपैयाँ बराबरको विगो माग दाबी गरिएको छ ।
विभागका अनुसार यस अवधिमा अन्य निकायहरुमा ७६ वटा फाइलबारे लेखि पठाइएको छ । जसमा ६ करोड ९२ लाख भन्दा बढी रुपैयाँ असुलउपर गर्नु पर्ने देखिएको विभागले जनाएको छ ।
यसबिच अनुगमनबाट कैफियत देखिएका ७६ वटा फर्म तथा कम्पनीहरुलाई जरिवाना गरिएको छ । जसबाट ५८ लाख १८ हजार रुपैयाँ असुल गरिएको विभागले जनाएको छ । विभागले दिएको जानकारी अनुसार अहिलेसम्म भिसिटिएस प्रयोगकर्ताहरुको संख्या एक लाख ९० हजार १४२ छ भने तीन प्रयोगकर्ताहरुलाई अनुगमन गर्न २४४ वटा गस्ती परिचालन गरिएको छ ।
पछिल्लो केहि महिनामा आयातमा भएको कडाईका कारण चिनी, कपडाजन्य सामान, मदिरा तथा विद्युतिय सामानहरुको चोरी पैठारी बढ्न सक्ने देखिएपछि गोदाममा रहेका स्रोत नखुलेका माल वस्तुको भण्डारण तथा कारोबारलाई हेरेर अनुसन्धान तथा अभियोजनलाई तिव्रता दिइएको विभागले जनाएको छ ।