आयुक्त थपलियाको प्रस्ताव तीनै तहको चुनाव छुट्टाछुट्टै मितिमा गरौँ
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन छुट्टाछुट्टै मितिमा हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा कार्यक्रममा थपलियाले दुई तहको निर्वाचन एकै समय गर्दा प्रदेशको एजेन्डा ओझेलमा परेको अनुभव भएको बताए ।
उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन फरकफरक वर्ष हुनेगरी बहस चलाउनुपर्ने आवश्यकता पनि औँल्याए ।
“दुईवटा निर्वाचन (प्रदेश सभा र प्रतिनिधि सभा) एकैपटक हुने भएकाले २–३ वटा कुरा हामीले पनि महसुस गर्यौँ । एउटा प्रादेशिक एजेन्डा कहीँकतै ओझेलमा परेका हुन् कि भन्ने देखियो । मतपत्र बदरका कुरा पनि देखिए । यदि मिल्छ भने थप व्याख्या गरेर एक वर्ष स्थानीय तहको निर्वाचन, अर्को वर्ष प्रदेश सभाको निर्वाचन र अर्को वर्ष प्रतिनिधि सभाको निर्वाचन ढंगले जानुपर्छ ।”
उनले छुट्टाछुट्टै मितिमा निर्वाचन मागेर आयोगले निर्वाचन मात्रै खोजेको अर्थ नलगाउन आग्रह पनि गरे ।