रेशम चौधरीको जन्मकैद उच्च अदालतद्धारा सदर
जनता समाजवादी पार्टीका सांसद समेत रहेका रेशमलाल चौधरीको जन्मकैदको सजायलाई, उच्च अदालत दिपायलले सदर गरेको छ । यसअघि जिल्ला अदालतले गरेको फैसला नै शुक्रबार उच्च अदालतले सदर गरेको हो ।
उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर र सिताराम मण्डलको संयुक्त इजलाशले जिल्ला अदालत कैलालीको फैसला सदर गरेको हो ।
टिकापुर घटनामा मुछिएका रेशमलाल सहित ७ जनाको फैसला सदर भएको हो ।
उच्चले जिल्लाको फैसला सदर गर्दै भनेको छ, “मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं। को कसुरमा सोही महलको १३, ९३० जन्मकैद हुने र सो महलको १५ नं। बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठहयाई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेकै देखिदा सदर हुने ठहर छ।”
०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।