शिक्षामन्त्रीको राजीनामा माग्दै पुत्ला दहन
शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुत्ला दहन गरेको छ ।
शुक्रबार रत्नराज्य क्याम्पसअगााडि अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।
उनीहरुले शिक्षामन्त्री खनालले गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् । शिक्षामन्त्री खनालले एकदेखि पाँच कक्षासम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए ।
सो निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले विरोध जनाएका छन् ।शिक्षामन्त्रीको पुत्ला दहनपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको सट्टा मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खान लागेको आरोप लगाए ।
“शिक्षामन्त्रीले जनक शिक्षा सामग्रीलाई बचाउनुको सट्टा मास्ने गतिविधि गरेका छन् । सरकार बनेको छोटो समयमै गलत निर्णय भएको छ । सरकारको लगानीमा निर्माण भएका संस्थाहरु निजीकरण गर्दै दलालहरुलाई दिने चक्रव्युह रचिएको छ,” उनले भने “शिक्षामन्त्रीले आफ्नो पहिलो निर्णय नै जनतालाई भार बोकाउने निर्णय गरेको छ ।”