बागी उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने सत्ता गठबन्धनको निर्णय
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धनभित्रका बागीको उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले सत्तारुढ गठबन्धनमा आबद्ध उम्मेदवारलाई पराजित हुन नदिन गठबन्धनभित्रका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिवालयका सदस्य डा सुरेश आचार्यले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धैरैभन्दा धेरै ठाउँमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन गठबन्धनका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरिएको जानकारी दिए।बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई ध्यानाकर्षणसमेत गरेको छ। बैठकले एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै त्यसबारे निर्वाचन आयोगलाई सचेत गराउने निर्णयसमेत गरेको छ।