मेक्सिकोकाे एक बारमा गोली चल्यो, नौ जनाको मृत्यु
हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको हत्या गरेका छन् । उक्त हत्यामा लागूऔषध तस्रहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो ।
‘ट्रकमा सवार हतियारधारी पुरुष लेक्सस बारमा आइपुगे र भित्रका मानिसहरूमाथि गोली चलाउँदा पाँच पुरुष र चार महिलाको मृत्यु भयो, स्थानीय नगरपालिकाले एक विज्ञप्तिमा भन्यो ।
गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।
स्थानीय सञ्चारमाध्यमले यो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् ।