ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचलाई टक्करै दिएर पराजित गरें
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन् ।
बिहीबार विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका नेता–कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै उनले ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले उनी बर्बराउँदै हिँडेको टिप्पणी गरे । ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेका बेलामा आफूले टक्कर दिएर सरकार ढालेको अध्यक्ष नेपालको भनाइ छ ।
सरकार ढलेपछि अहिले ओलीले उट्पट्याङ कुरा गरिरहेको भन्दै उनले उनका उट्पट्याङ कुराको संकलन गर्नुपर्ने बेला भएको उल्लेख गरे ।
ओलीले अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको अध्यक्ष नेपालले बताए ।