यो गठबन्धन कम्तीमा ५ वर्ष कायम रहन्छ: वर्षमान पुन


नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सत्ता गठबन्धन कम्तीमा पनि ५ वर्षसम्म कायम रहने बताएका छन्। लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए।

०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमण्ड र अहंकारका कारण ५ वर्ष खेर गएको उनको भनाइ थियो। उनले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको र पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद् विघटन गरेको टिप्पणी गरे।

‘पाँच वर्ष एक ढंगले खेर गयो। हामीले समयको सदुपयोग गर्न सकेनौँ। अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ। अघि हिँड्नेले घमण्ड गर्दा अरुले दुःख पाए। सरकार भनेको देशको अभिभावक हो। प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो। उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो। म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो,’ पुनले भने। पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि आरोप लगाए। राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप उनले लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *