एकीकृत समाजवादीको ठहर: निर्वाचन प्रणालीमा सुधार जरुरी
नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने मान्यता अघि सारेको छ। सोमबार सार्वजनिक गरिएको पार्टीको घोषणापत्रमा अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत रहेको ठहर गरिएको छ।‘यो मूलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ। यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ। कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भइ विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ,’ घोषणापत्रमा भनिएको छ।
आफूहरुले यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहेको एकीकृत समाजवादीले घोषणापत्रमा भनेको छ। ‘यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ घोषणापत्रमा उल्लेख छ।