माओवादी केन्द्रको निर्वाचन घोषणापत्र सार्वजनिक हुँदै
सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आज (सोमबार) आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्ने भएको छ।
प्रतिबद्धतापत्र सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने मस्यौदा समितिका एक सदस्य गणेश साहले जानकारी दिए। २०७२ सालमा संविधान जारी भएपछि माओवादी केन्द्रले पहिलोपटक चुनावी घोषणापत्र जारी गर्न लागेको हो।
२०७४ सालको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग तालमेल (वाम गठबन्धन) गरेको थियो। त्यतिबेला एमाले र माओवादीले संयुक्त घोषणापत्र जारी गरेका थिए।
यसपटक नेपाली कांग्रेससहितका दलसँग तालमेल गरेको माओवादी केन्द्रले छुट्टै घोषणापत्र जारी गर्न लागेको हो। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले घोषणापत्र नै जारी गरेको थिएन। माओवादी केन्द्रले घोषणापत्र निर्माणका लागि भदौदेखि नै तयारी गरेको थियो। माओवादी केन्द्रको स्थायी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको थियो।