कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा


समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारासहित कांग्रेसले निरन्तरतामा नवीनता र सम्मुनत नेपालको मार्गचित्रसहितका विषयवस्तु प्रस्तुत गरेको छ ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि ल्याएको संकल्पपत्रमा पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम् वार्षिक सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।

‘ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण प्रारम्भ गर्दै अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश पाँच दशमलव छ प्रतिशतबाट नौ प्रतिशत कायम गर्ने नीति लिइएको छ । कांग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै झन्डै ७५ वर्षअघि बिपी कोइरालाले कल्पना गरेको समुन्नत नेपालको अवधारणका आधारमा संकल्पपत्र तयार गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

पुँजी सङ्ग्रह र आर्थिक वृद्धि महत्वपूर्ण साधन हुन् तर विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सबलीकरण नै हो भन्दै कांग्रेसले समुन्नत नेपाल बिपी कोइरालाकै समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्यालाई संकल्पपत्रमा उल्लेख गरेको छ । क्षेत्रगत प्राथमिक एजेन्डाका रुपमा समग्र शिक्षा प्रणालीलाई आर्थिक-सामाजिक रुपान्तरण गरी सबै नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने कांग्रेसको लक्ष्य छ । गुणस्तरीय शिक्षाको सुनिश्चितता नभएको, प्राविधिक शिक्षा सबैको पहुँचमा नपुगेको र सूचना प्रविधिको तीव्रतम बदलिँदो अवस्था र प्रयोगलाई मध्यनजर गर्दै २१औँ शताब्दीले आत्मसात् गरेको सिकाइ पद्धति अपनाएर वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्ने कांग्रेसको प्रतिबद्धता छ ।

कांग्रेसले पाँच वर्षभित्र सिकाइको संकटको मापन संस्थागत गर्ने, महिला (१५–२४ वर्ष) साक्षरता दर ९५ प्रतिशत पुर्‍याउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । कक्षा ११ मा भर्ना हुने दर कम्तीमा ५० प्रतिशत पुर्‍याउने, पाठ्यक्रममा प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत, पाठ्यक्रममा प्राविधिक र व्यावासायिक सीप ४० प्रतिशत बनाउने कांग्रेसले नीति अघि सारेको छ ।

विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको ठहर गर्दै कांग्रेसले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्न नेपालको संविधान र मुलुकको आवश्यकताअनुरुपको जनताकेन्द्रित एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने संकल्प लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *