नर्वेमा संदिग्ध रुसी जासुस पक्राउ
र्वेजियन प्रहरीले एक जना संदिग्ध रुसी जासुसलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार नर्वेको आन्तरिक सुरक्षा निकाय पीएसटीले विश्वविद्यालयमा अध्यापन गराउने ३० वर्षे मानिसलाई पक्राउ गरेको हो ।
नर्वेको ट्रोम्सो विश्वविद्यालयमा ब्राजिलियन अध्यापकको छद्म भेषमा अध्यापन गराउने रुसी नागरिकलाई पक्राउ गरिएको जनाइएको छ । ती अध्यापकको पहिचान भने गोप्य राखिएको छ । उनले आफू ब्राजिलियन अध्यापक भएको बताएपनि खासमा उनी रुसी भएको नर्वेजियन अधिकारीको दाबी छ ।
ती अध्यापकले ट्रोम्सो विश्वविद्यालयमा सन् २०२१ यता शोधकर्ताको रुपमा काम गरिरहेको बीबीसीले जनाएको छ ।
नर्वेको राजधानी ओस्लोमा रहेको रुसी राजदूतावासले भने स्थानीय सञ्चारमाध्यमलाई पक्राउ परेका व्यक्तिको पहिचान गर्न अस्वीकार गरेको बताइएको छ ।
‘आधारभूत राष्ट्रिय हितमा खतरा’ पहिचान गरी उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । नर्वेजियन प्रहरीका उपप्रमुख हेड्विग मोइले नर्वेका नीतिबारेका सूचना हात पारेको हुनसक्ने विषयमा अनुसन्धानकर्ताहरु चिन्तित बनेको टिप्पणी गरेकी छिन् ।